लगातार आठौँ पटक स्थगित भएको प्रदेश सभाको बैठक आजबाट सुचारु हुने

धनगढी, असार । लगातार आठौँ पटक स्थगित भएको प्रदेश सभाको बैठक आइतबारदेखि सुचारु हुने बताइएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा शनिबार बसेको बैठक सकारात्मक रहेको भन्दै आइतबार आह्वान गरिएको बैठक स्थगित नहुने आर्थिक मामिला तथा तथा योजना मन्त्री झपट बोहराले बताए ।
‘प्रतिपक्षी दल र सरकारबीच वार्ता मिलेको छ, आईतबार संसद् चल्छ’ अर्थमन्त्री बोहराले शनिवार साँझ सुनाए । प्रतिपक्षी दलका रचनात्मक सुझाव ग्रहण गर्न सरकार तयार रहेको उनले दावी गरे । तर, अर्थमन्त्री बोहराले कुन–कुन विषयमा सहमति भयो भन्ने विषय भने उल्लेख गर्न चाहेनन् ।
‘गतिरोध भनेको राजनीतिक विषयबस्तु हो । केही आफ्ना कुराहरू हुन्छन् केही पार्टीका हुन्छन् । केही सिद्धान्तका हुन्छन्’ उनले भने, ‘भोलि मुख्यमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताले संसद्मा सम्बोधन गर्नुहुन्छ कतिपय कुरा त्यहाँ प्रस्ट हुन्छ ।’
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता डा। रणबहादुर रावलले पनि सरकारसँगको वार्ता सकारात्मक रहेको बताए । उनले आइतबार प्रदेश सभाको बैठक सुचारु हुने सङ्केत गरेका छन् । ‘वार्ता सकारात्मक रहेको छ । हामीले हरहिसाबले संसद्को म¥र्यादा हुने गरी, प्रदेशको जनताको पक्षमा लागिरहेका छौ’ उनले भने ‘कुरा धेरै मिलिरहेको छ । आईबार संसद् चल्छ ।’
सभामुख अर्जुनबहादुर थापाले पनि आइतबार प्रदेश सभाको बैठक सुचारु हुने दावी गरेका छन् । उनले भने, ‘आईतबार प्रदेश सभा बैठक सुचारु हुन्छ ।’ आइतबारको बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले संसद्मा सम्बोधन गर्न सभामुख थापाले बताए । साभार ः पश्चिम खबर