बम विस्फोटमा घाइते ५ मध्ये १ जनाको मृत्यु

धनगढी, साउन । धनगढी उपमहानगरपालिका–४, शहीद गेटस्थित नीलम होटलमा बिहीबार भएको बम विस्फोटमा घाइते ५ मध्ये १ जनाको मृत्यु भएको छ । विस्फोटमा परी गम्भीर घाइते राम सिंहको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ । प्रहरीका अनुसार, आफैंले बोकेको बम विस्फोट हुँदा सिंहको कम्मर पछाडिको भागमा गम्भीर चोट लागेको थियो ।
घाइते भएसँगै माया मेट्रो अस्पताल र्पुयाइएका सिंहलाई चिकित्सकले तत्काल बाहिर लैजान सिफारिस गरेका थिए । तर, थप उपचारका लागि बाहिर लैजाने प्रयास हुँदाहुँदै समय अभावमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव अहिले पोस्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ । सिंह बझाङका स्थायी बासिन्दा हुन । उनी विप्लव समूहको कार्यकर्ता भएको प्रहरी भनाइ छ ।
बम विष्फोटमा कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र धनगढी–४, बोराडाडीका केशवराज पाण्डे घाइते भएका छन । उनीहरू सबैको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।