बर्खे बिदाको तयारी भइरहेका बेला बझाङको उत्तरी क्षेत्रमा नयाँ शैक्षिकसत्र सुरु

बझाङ, साउन । बझाङको उत्तरी भेगमा बर्खे बिदाको तयारी भइरहेका बेला भने शैक्षिक सत्रको पढाइ भरखरै सुरु भएको छ । विद्यार्थी यार्सा टिप्न लेकतिर गएपछि बन्द भएका कारण विद्यालयमा अहिले पढाइ सुरु भएको हो । जिल्लाको तल्लो भेगका विद्यालयले बर्खे बिदा गर्ने तयारी गरिरहेका बेला उत्तरी भेगका विद्यालयमा भने पढाइ थालिएको हो ।

उत्तरी भेगका ४४ वटा विद्यालयको पठ्न पाठन सुरु भएको छ । सुर्मा गाउँपालिकाको दौलिचौर माविमा असार १६ गतेबाट विद्यार्थीलाई पुस्तक वितरण गरेर पढाइ सुरु भएको बिद्यालयका शिक्षक अशोक बोहराले बताए । उनले कक्षा ३ देखि १२ कक्षा सम्मका अधिकांश विद्यार्थी बैशाखको पहिलो साताबाट यार्सा टिप्न लेकतिर गएकाले अहिले फिर्ता भएपछि विद्यालय सुचारु गरेको बताए ।

बझाङको बुंगल नगरपालिका, दुर्गाथली गाउँपालिका, छबिसपाथीभेरा गाउँपालिका, सुर्मा गाउँपालिका, मष्टा गाउँपालिका, तल्कोट गाउँपालिका र साईपाल गाउँपालिकाका अधिकांश मानिस आफ्ना बालबालिकासहित हिमालतिर यार्सा टिप्न जाने गर्दछन् । हिमाली क्षेत्रमा बझाङ जिल्लाका झण्डै सातहजार विद्यार्थी यार्सा टिप्न हिमालतिर गएको तथ्यांक रहेको छ ।